नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजे: सहमन्त्री राठौर

काठमाण्डु टुडे २०८० जेठ ३० गते १४:१४ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– कांग्रेस सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले नेता र कर्मचारी जनताको सेवक बन्नुपर्ने बताएका छन ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्वारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजित सुशासनका लागि साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

सांसद राठौरले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाएका छन । सांसद राठौरले सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउँदै देशलाई सम्वृद्धिको बाटोमा लैजान सबै अनुशासित बन्नुपर्ने बताएका छन ।

राठौरले देशको प्रमुख चुनौती नै भ्रष्टाचार भएकाले त्यसको समाधानका लागी आफ्नो काम कर्तव्य प्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताएका छन ।

उनले चिल्ला गाडीमा चढ्न र काठमाण्डुमा घर किन्न राजनीति गरेको नभई जनताको सेवक सेवा गर्न राजनीतिमा आएको बताएका छन ।

त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले समन्वय समितिलाई पूर्ण अधिकार नदिई सौताको छोराको व्यवहार गरेको उनले बताएका छन ।

उनले जिल्लाको समग्र अनुगमनको पाटो समन्वयले गर्ने भए पनि त्यसको कुनै औचित्य नभएकाले बिना स्रोत र साधनको समन्वय खारेज गर्न समेत माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us