
काठमाण्डु, २७ जेठ– जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको बताएका छन । साथै उनले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष राउतले मधेस आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित भएको भन्दै आन्दोलनको आवश्यकता रहेको बताएका छन ।
उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान छैन । त्यसैले आन्दोलन गर्न आवश्यक छ ।’
जनमत पार्टी सांसद र मन्त्री बन्न र बनाउनका लागि आएको पार्टी नभएको उनले बताएका छन । अध्यक्ष राउतले भने, ‘अरू कुनै पार्टीले एउटा मन्त्रालय पाउने वितिक्कै ती पार्टीका अध्यक्ष नै सरकारमा जान तँछाडमछाड गर्थे तर जनमत पार्टीका अध्यक्षले अरूलाई पठाएको छ ।’
उनले आफ्ना लागि पद र पैसा ठुलो नरहेको पनि बताएका छन । कार्यक्रममा जसपाबाट एमाले लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ताहरू पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।