कमल थापा र दीपक सिंह रिहा

काठमाण्डु टुडे २०८२ जेठ १८ गते २१:२४ मा प्रकाशित

काठमाण्डू, १८ जेठ–राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद् दीपक सिंहसहित ७ राजावादी रिहा भएका छन् ।

थापालाई राजावादीको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि आइतबार नक्साल नारायणचौरबाट नियन्त्रणमा लिएको थियो ।

थापालाई भेट्न काठमाण्डू प्रहरी परिसर पुगेका सिंहलाई पनि प्रहरीले केही घण्टा हिरासतमा राखेको थियो । काठमाण्डू प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले थापा र सिंहसहित ७ जनालाई रिहा गरिएको जानकारी दिए ।

रिहा हुने अन्यमा शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना छन् ।

पक्राउ परेकामध्ये राजीव झा हिरासतमै छन् । झाले मादक पदार्थ सेवन गरी प्रहरीमाथि अपशब्द बोलेको बोहराले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us