
काठमाण्डू, १८ जेठ– सरकारले राजावादी समूहलाई लक्षित गरी काठमाण्डूका तीन ठाउँबाहेक अन्यत्र प्रदर्शन गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आइतबार एक सूचना जारी गर्दै कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर क्षेत्रमा मात्र प्रदर्शन गर्न दिने भनेको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा चाबिहलको सिफल चौर, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकिएको उल्लेख छ ।
स्थानीय प्रशासन ऐन–२०२८ को दफा (६) को उपदफा (३) बमोजिम ती स्थानबाहेकमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोध कार्यक्रममा गर्न निषेध गरिएको उनको भनाइ छ ।
‘चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै आदेश जारी भएको’, सूचनामा भनिएको छ ।