दुई जलविद्युत आयोजना प्रचण्डले कौडीको भाउमा भारतलाई बुझाए: केपी ओली

काठमाण्डु टुडे २०८० जेठ २७ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको बताएका छन ।

आज शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले यस्तो बताएका छन । ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको बताएका छन ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा व्यापार गर्ने समझदारी भएको थियो । जस अनुसार १० वर्षमा १० हजार मेगावाट विजुली भारतले खरिद गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए ।

त्यस्तै नेपालको तल्लो अरुण र फुकोट कर्णाली आयोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता पनि भएको थियो । उक्त सम्झौताप्रति टिप्पणी गर्दै ओलीले भने, ‘दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ ।

मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । ‘४८० मेगावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए ।

यो त अहिले त किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो, प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ?’प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइक्क बोल्न पनि नसकेको ओलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us