प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन्: केपी ओली

काठमाण्डु टुडे २०८० जेठ २७ गते १६:२० मा प्रकाशित

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन ।

मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीले बताएका छन । आज शनिबार काठमाण्डुमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताएका छन ।ओलीले भने, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ ।

यी दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । भनेको प्रतिबद्धता, यी कमिटमेन्ट, योजना केही पनि २५ प्रतिशत पनि मिलेन ।

देश त्यति नराम्ररी देश पछाडि परेको छ । सरदर ६ दशमलव ५ पुगिसकेको उत्पादन वृद्धिदर हामीले त ७ दशमलव १ प्रतिशत पुर्‍याएका थियौँ ।

सरदर नै भन्ने हो भने पनि हामीले ६ दशमलव १ प्रतिशत उत्पादन वृद्धि पुर्‍याएका थियौँ । त्यो घटेर २ भन्दा तल आइसक्यो । अहिले कोभिडसोभिडको मारले यस्तो भएको होइन ।

अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ । युक्रेनको वारले हामीलाई धुवा उडाएको कि, धुलो उडाएको कि, के गर्‍या छ ? युक्रेनको वारले हो रु अस्ति हाम्रा नदीहरू प्रचण्डजीले सित्तैमा दिएर आएको ?

आफ्नो भूमिको बारेमा चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो ? १५ वटा राँगा ल्याए भनेर । त्यही पनि राँगा लिएर आउने भनेर जिस्क्याए रे । यो त केपी ओलीकै पालोदेखि कुरा चलेको रहेछ भनेर भनियो ।

उहाँहरूले त कुनै कुरै चलाउन सक्नुहुन्न ।’ उनले थपे, ‘सबै कुरा त्यहाँ संयुक्त चेकजाँच पोस्टको कुरा गर्नु भएको छ । त्यो मेरै पालामा हो । भैरहवा बनिसकेको छ । वीरगंज बनिसकेको छ । विराटनगर बनिसकेको छ ।

अरू ठाउँमा नयाँ बन्दै जाने कुरा हो । त्यो पहिले नै तयार छ । जमिन हामीले तयार गरेका छौँ । बजेट छुट्टयाइएको छ । योजनामा पहिलेदेखि नै पारिएको छ । यो त नयाँ कुरै होइन ।

अनि के गरेर आउनु भयो त ? दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनु भएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ ।

कुदीरहेको नदीमै बाँध नबाँधीकन ४८० मेगावाट कुदेको नदीबाट विद्युत् निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए ।

यो त अहिले ती किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो । प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ? यत्तिकै भएको होइन यो । नेपालको दशा बिग्रिएकै हो ।

नेपालमा दुर्दिन छाएकै हो । नेपालको भूमिमा ग्रहण लागेकै हो । यस्ता यस्ता सरकार बनेका छन् । जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us