
काठमाण्डू, १८ जेठ– राजावादीले सोमबार काठमाण्डू उपत्उका बन्दको घोषणा गरेको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उपत्यका बन्दको घोषणा गरेका हुन् ।
आफूहरूको आन्दोलनमा सरकारले बर्बर दमन गरेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको दाबी विज्ञप्तिमा गरिएको छ ।
‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं’, सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं ।’
उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न उनले राजावादी समर्थकलाई अपिल गरेका छन् ।
आइतबारको आन्दोलनका क्रममा निषेधाज्ञा तोडेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरिएको थियो । थापा र राप्रपा सांसद् दीपक सिंहसहित पक्राउ परेका ७ जना राजावादीलाई प्रहरीले आइतबार साँझै रिहा गरिसकेको छ ।
सुवेदीले शान्तिपूर्ण आन्दोलनका क्रममा कमल थापालाई अमानवीय तवरले पक्राउ गरिएकाले आफूहरुले निन्दा गर्ने बताए ।