
काठमाण्डु, २७ जेठ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारमा ल्याउने गृहकार्यको सुरु गरेका छन ।
जनता समाजवादी पार्टीले नचाहँदा नचाहँदै प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा भित्र्याउन लागेका हुन । जसपाले मधेस प्रदेशमा आफ्नो प्रतिस्पर्धी जनमत पार्टीलाई मानेको छ ।
जनमतलाई सत्ताभन्दा बाहिर नै राख्न चाहना जसपाको रहेको छ । सङ्घीय सरकारमा जनमत पार्टी सहभागी नहोस् भनी जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहना रहेको छ ।
तर अब जसपाका अध्यक्ष उपेन्द्र यादवको यो चाहना पुरा नहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउने भित्री तयारी गरिसकेका छन् ।
प्रधानमन्त्रीले जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पनि यो विषयमा छलफल जारी रखेका छन । प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्र वा काङ्ग्रेसबाट एउटा मन्त्रालय खाली गराएर जनमतलाई सरकारमा फर्काउन चाहनामा रहेका छन ।
जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जनमत पार्टीले कहिल्यै पनि सरकारमा नजाने भनेको नभई आफूले मागेको मन्त्रालय र त्यसमा भएको सहमति कार्यान्वयन नभएकोले सरकारभन्दा बाहिर बसेको बताएका छन ।
उनले जनताका लागि काम गर्ने मन्त्रालय दिए जनमत पार्टी सरकारमा जान तयार रहेको बताएका छन । यद्यपि उनले प्रधानमन्त्री प्रचण्ड र आफ्ना अध्यक्ष राउतबीच कुराकानी भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन ।
जसपाले जनमत पार्टीलाई केन्द्रबाट मात्र होइन मधेस प्रदेश सरकारमा समेत वञ्चित गर्ने तयारी सुरु गरिसकेको थियो । तर प्रधानमन्त्री प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जनमतलाई नचलाउन भनेपछि उनी रोकिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले रोक्दा रोक्दै पनि जसपाका अध्यक्ष यादवले जनमतका मन्त्रीलाई बिना विभागीय बनाउन सफल भएको श्रोतले जानकारी दिएको छ । जनमतका कृषि मन्त्री र कृषि राज्यमन्त्रीलाई बिना विभागीय बनाइएको छ ।
त्यो कुरा प्रधानमन्त्री प्रचण्डलाई पनि मन परेको छैन । जसपाका अध्यक्ष यादवले गरेको त्यो कार्यप्रति प्रधानमन्त्री प्रचण्डले आपत्ति व्यक्त गरेका छन ।
मधेस प्रदेशमा पनि जनमतलाई मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डले अध्यक्ष यादवलाई भनिसकेका छन् । प्रदेशमा पनि जनमतलाई मन्त्रालय दिने विषयमा छलफल भइरहेको छ । यता केन्द्रमा पनि कुन मन्त्रालय दिने भन्ने भन्ने विषयमा छलफल जारी छ ।