
काठमाण्डु, २७ जेठ– कांग्रेस नेता डा.शेखर कोइरालाले पूर्वराजाले बोल्दैमा गणतन्त्र नजाने दाबी गरेका छन । आज शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले कमजोर मानसिकता देखाउनुपर्ने नपर्ने बताएका छन । उनले भने, ‘कहिलेकाहीँ हाम्रा नेताहरुले, नेपाली कांग्रेसका नेताहरुले त बोलेको सुन्दिनँ म, हाम्रा नेताहरुले आफ्नो कमजोर मनस्थिति देखाएको म देख्छु।
पूर्वराजाले बोल्ने बित्तिकै गणतन्त्र गयो, समाप्त हुन थाल्यो भनेर भन्नुहुन्छ। गणतन्त्र जाँदैन,’ । कोइरालाले गणतन्त्र जान नसक्ने कारण दिँदै भने, ‘किनभने हामी समानताको पक्षमा छौँ। नेपाली कांग्रेस आर्थिक समानताको पक्षमा छ।
सामाजिक समानताको पक्षमा छ। सांस्कृतिक समानताको पक्षमा छ। त्यसकारण पनि गणतन्त्र जाँदैन भन्ने कुरा तपाईंहरुको माझमा राख्न चाहन्छु।’
उनले राजनीतिक स्वतन्त्रता पाएको र संविधान पाएकोमा खुसी भएता पनि आर्थिक, सामाजिक, सांस्कृतिक विविधताहरु अहिले पनि अप्ठ्यारामा परेको बताएका छन ।
उनले भने, ‘जबसम्म हामीले ती कुराहरुलाई समानतामा ल्याउन सक्दैनौँ। हाम्रो संविधान अप्ठ्यारोमा पर्न सक्छ,’ । उनले बजेटमा उल्लेख गरिएको जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने कुराप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन ।
उनले भने, ‘अहिले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनुपर्छ भनेर भनिरहेका छौँ। हुनु पनि पर्छ। र निर्वाचन आयोगलाई सीडीओको मातहत, एउटा कोठामा लगेर राख्ने कार्यले लोकतन्त्र मजबुत हुन सक्दैन। लोकतन्त्र मजबुत हुनका लागि निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी हुन्छ।’