२०८४ मा हुने निर्वाचन रास्वपाले जित्ने देखेपछि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन्र: रवि लामिछाने

काठमाण्डु टुडे २०८० जेठ २७ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनाव जित्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको बताएका छन ।

आज (शनिबार) काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन । उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको आरोप लगाएका छन ।

उनले भने, ‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् ।

तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।’ उनले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने पनि दाबी गरेका छन ।

उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसद्मा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको बताएका छन ।

उनले भने, ‘नागरिकता विधेयकमा हामीले त्यतिबेला नै तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक रोक्दा हामीले संविधान विपरीतको काम भयो भनेका थियौँ ।

तर दलहरूको अकर्मण्यता पनि भयो सही बाटोबाट सही ढङ्गबाट ढोकाबाट नल्याइसकेपछि प्रक्रिया नपुर्‍याइसकेपछि यस्तै हो भनेका थियौँ । पार्टी निर्वाचनमा नपुग्दै, त्यसको निरन्तरतामा हामी छौँ ।

हामीले वैवाहिक अङ्गीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौँ । हामीले सही ढङ्गबाट आओस् भनेका छौँ । हामीले नेपाली आमाका छोराछोरीले नागरिकता नपाउन् भनेर बोलेकै छैन ।

जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्छ भनेका छौँ । महिलामाथि विभेद छ, प्रावधान राखेर ल्याइएको छ, अपराधकारी कुराको सम्बोधन हुनुपर्छ ।

संसदमा ल्याएको भए दूधको दूध, पानीको पानी हुन्थ्यो, तर जानाजान कसैले न कसैले यसमा मुद्दा हाल्छ भन्ने जानेर हो की, जानाजान यस्तोबाट ल्याइयो,’ ।

उनले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताएका छन । उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us