नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध छ: रवि लामिछाने

काठमाण्डु टुडे २०८० जेठ १७ गते १४:०० मा प्रकाशित

काठमाण्डु, १७ जेठ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको बताएका छन्।

लामिछानेले बुधबार फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उल्लेख गरेका छन्।नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहित विरूद्ध छ,’ लामिछानेले भनेका छन्।

सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। गत जेठ १२ गते मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो।

यसअघि संसदबाट २ पटकसम्म नागरिकता विधेयक पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो।तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us