
काठमाण्डु, १ जेठ– पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन ।
उनले दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी शक्तिविरुद्ध निशाना केन्द्रित गर्न पनि आग्रह गरेका छन । अनेरास्ववियूको ५९औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका छन ।
खनालले बढ्दो श्रमजीवि युवाहरु विदेश पलायन भइरहे पनि त्रिशंकु संसदले समाधान दिन नसकेको बताएका हुन । उनले देश समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरे पनि चौतर्फी संकटबाट गुज्रिरहेको बताएका छन ।
उनले भनेका छन्, ‘भ्रष्टाचाररुपी अजिङ्गरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवि युवाहरु खाडी मुलुक र मलेसिया तथा युवा बिधार्थीहरु अस्ट्रेलिया तिर लाग्न बाध्य भइरहेका छन् ।
त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकिरहेको छैन ।’ उनले यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी रहेको बताएका छन ।
तर अझैसम्म देशका कतिपय वामपन्थी शक्तिहरु मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्ने कुरामा नै अन्योलग्रस्त र दिशाहीन देखिएको उनले बताए ।
उनले सम्पूर्ण समस्या, बिकार र विकृतिको एकमात्र समाधान समाजवाद हो भन्दै खनालले समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई पनि समाधान गर्नसक्ने बताएका छन ।
त्यसैले यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने मूल नारालाई दृढतापूर्वक समात्न आग्रह गर्दै खनालले भनेका छन्, ‘समाजको प्रधान अन्तर्विरोध र प्रमुख निशानालाई होसियारीपूर्वक ठम्याआँ । दलाल पँुजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निशाना केन्द्रित गरौं ।’