केपी ओली र विद्या भण्डारीबीच बालुवाटारमा एक्लाएक्लै वार्ता

काठमाण्डु टुडे २०८२ असार ३ गते २१:४९ मा प्रकाशित

??????

काठमाण्डू, ३ असार– प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

ओली भेट्न भण्डारी मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् ।

बालुवाटार उच्च श्रोतका अनुसार ओली र भण्डारीबीच करिब एक घण्टा एक्लाएक्लै (वान अन वान) वार्ता भएको थियो । भण्डारी सक्रिय राजनीतिमा आउने तयारीमा छिन् ।

ओली र भण्डारीले एकअर्का लक्षित अभिव्यक्ति दिँदै आएका छन् । ओलीले महाधिवेशन आउन धेरै समय बाँकी रहे पनि कोही आउँदैछ भन्ने हल्ला नचलाउन चेतावनी दिएका थिए ।

गत साता गृहप्रदेश कोशी भ्रमणमा गएकी भण्डारीले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू राजनीतिक व्यक्ति भएको र एमालेमा धेरै लगानी गरेको भन्दै एमाले नेतृत्वसँग सोधेर हिंड्न जरुरी नभएको प्रतिक्रिया दिएकी थिइन् ।

श्रोतका अनुसार ओली र भण्डारीबीच एमालेको आन्तरिक राजनीति, मुलुकको अवस्था लगायत विषयमा छलफल भएको छ । भण्डारीले गत महिना भएको आफ्नो चीन भ्रमणबारे समेत ओलीलाई अवगत गराएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us