
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन ।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’ उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन ।
इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनासर्त आत्मसमर्पण गर्न आग्रह गरेका थिए ।