सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग सहकार्य हुन्छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० वैशाख २४ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् भोलिको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।

सरकारले २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पत्रकारिता दिवसका अवसरमा आज सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
दिवसका अवसरमा आज नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us