
काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन ।
उनले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका छन ।
आज (बिहिबार) धनगढीमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन ।
पीडितहरुलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’ उनले मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने बताएका छन ।
उनले यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको बताएका छन । अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आवद्ध दलहरु गम्भीर भएको समेत बताएका छन ।
उनले अर्को प्रसंगमा उनले नेपालले पूराना राजनीतिक दल सच्चिनु पर्ने बताएका छन । नयाँ दलले पनि फुरुङ्ग भइहाल्न नहुने उनको भनाइ छ ।