अध्यक्ष ओलीमाथिको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: पौडेल

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १६:१२ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– एमाले सांसद विष्णु पौडेलले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि झापामा भएको आक्रमणको विरोध जनाएका छन ।

शुक्रवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले विरोध जनाएका हुन । सांसद पौडेलले सरकारले सुरक्षा दिन नसकेकोप्रति आपत्ति जनाएका छन ।

उनले अध्यक्ष ओलीमाथिको आक्रमणमा सरकार मौन समर्थक बनेको आरोप लगाउँदै सो आक्रमणमा सरकारका कतिपय पात्रको पनि सहभागिता रहेको दाबी गरेका छन ।

उनले सो घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै प्रधानमन्त्री प्रचण्डले नै संसद्मा आएर जवाफ दिनुपर्ने बताएका छन ।

सो आक्रमणमा एमाले कार्यकर्ताका साथै सुरक्षाकर्मीहरू पनि घाइते भएको पौडेलले बताएका छन ।

सरकारले उनीहरूको उपचारमा पनि ध्यान नदिएको आरोप लगाउँदै उनले घाइते सुरक्षाकर्मीलाई काठमाण्डुमा ल्याएर उपचार गर्न आग्रह गरेका छन ।

उनले भने, ‘हाम्रो पार्टी अध्यक्ष केपी ओली चढेको गाडीमाथि आक्रमण गरियो । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ चढेको गाडीमाथि आक्रमण गरियो ।

एमाले कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरियो । त्यति मात्रै हैन सभामुख महोदय, हिजो इलामको पशुपतिनगरबाट फर्किने क्रममा बाटोमा एम्बुस थापेर उहाँहरूमाथि आक्रमण गर्ने, तार लगायतका अन्य खालका उपकरण प्रयोग गरेर उहाँहरूमाथि आक्रमण गर्ने कोसिस गरियो ।’

पाँचथर र तेह्रथुममा पनि आक्रमणको तयारी भइरहेको बताउँदै पौडेलले देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेका छन ।

पौडेलले आक्रमणमा सत्ता गठबन्धनका कार्यकर्ता समेत संलग्न रहेको भन्दै संविधानले दिएको अधिकार खोस्न खोजेको हो भन्दै प्रश्न गरेका छन ।

गृहमन्त्रीले दिएको जानकारीले नपुगेको भन्दै उनले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us