
काठमाण्डु,१५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन ।
आज (शुक्रबार) जनकपुरधाममा समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
अध्यक्ष नेपालले मुलुक आर्थिक सङ्कटसँग गुज्रिरहेको बेला प्रचण्ड नेतृत्वको सरकारले गरेको यो निर्णय गलत भएको बताएका छन ।
उनले आफूलाई धेरै कुरा थाहा नरहेको बताउँदै यो निर्णय पहिलाकै हो कि नयाँ हो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने बताएका छन ।
त्यस्तै उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताएका छन । माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत छलफल भइरहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलन बचाउन मोर्चा गरिने बताएका छन ।
उनले अव ७० लागेका नेताहरू आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफू लगायत त्यस्ता सम्पूर्ण नेताहरूलाई पुस्तान्तरणका लागि आह्वान गरेका छन् ।
चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टीहरू समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवश्यक रहेको बताएका छन ।