अयोग्य लडाकुलाई पैसा दिने निर्णय पारदर्शी छैन: पौडेल

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १२:१५ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– कांग्रेसका नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय पारदर्शी नभएको बताएका छन ।

८ चैतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अयोग्य लडाकुलाई पैसा दिने निर्णय नभएको भन्ने कुरा सार्वजनिक गरेको पौडेलले बताएका छन ।

सांसदलाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको पनि उनले बताएका छन ।

उनले भने, भित्रभित्रै कार्यविधि बनाइएको सुन्न आएको छ। यसले सरकारको कामकारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक सङ्कटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रस्ट देखाउँछ,’।

उनले सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सनसमेत दिन नसकेको विषय सार्वजनिक भइरहेको बताएका छन ।

उनले भने, ‘यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका सङ्केत देखाउन थालिसकेको छ । ’

उनले अहिले चुलिँदै गएको आर्थिक सङ्कटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us