ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेलाई कारबाही गर्न एमालेको माग

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १५:३८ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख– एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ ।

एमाले नेताहरुले हिजो बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका थिए ।

कानुन हातमा लिने प्रवृत्तिलाई प्रधानमन्त्री स्वयंमले प्रोत्साहन गर्नु दुःखद भएको एमाले नेता राजन भट्टराईले बताएका छन ।

बुधबार झापामा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा रहेका समूहले आक्रमण र हुलहुज्जत गरेको थियो ।

एमाले नेताहरुले चाबहिल सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेका छन ।

पाण्डेको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । तर अहिलेसम्म उनको हत्यामा संलग्नहरुलाई पक्राउ नगरिएको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

भेटपछि एमाले नेता राजन भट्टराईले मुलुकको शान्ति सुरक्षा कायम गर्न गठबन्धन सरकार असफल भएको बताएका छन ।

एमाले नेताहरुले आफ्ना नेताको सुरक्षाका लागि एमाले पङ्ति स्वयं लाग्नुपर्ने अवस्था नआओस् भनेर समेत सचेत गराएका पनि गरएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us