
काठमाण्डु, १३ वैशाख– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाण्डुको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको बताएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन ।
४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा प्रयोग गरेको थियो ।
आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताएका छन ।
उनले भने, ‘फिल्ड कमाण्डरको विश्लेषण गलत थियो । माइकिङ गरेर शान्तिपूर्ण रुपमा आउनु भन्दिनुपर्थ्यो । तर त्यहीँ कन्टेन गर्ने भन्ने निर्णय गरेछन् । बाहिरबाट मिसिने ग्रुपलाई पनि रोक्ने काम भएछ, त्यहाँ गल्ती भयो’ शान्तिवाटिकामा ढोका बन्द गरेपछि पीडितले आदोलन गर्नुभयो, त्यही कारण झडप भयो ।’
उनले मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएपछि पनि बल प्रयोग भएको पाइएको भन्दै त्यहाँ पनि गल्ती भएको बताएका छन ।