
काठमाण्डु, १३ वैशाख– एमाले प्रमुख सचेतक पदम गिरीले झापाको कार्यक्रमका लागि गएका पार्टी अध्यक्ष केपी ओलीमाथि अभद्र व्यवहार भएको कुरा सदनलाई जानकारी गराएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो जानकारी गरएका हुन । गिरीले अध्यक्ष ओली झापाको भद्रपुर एयरपोर्टबाट बुधबारेको कार्यक्रम स्थलमा पुग्नलाग्दा उनीविरुद्ध होहल्ला गर्ने, पार्टी गतिविधि गर्न लाग्दा अवान्छित गतिविधि गर्ने, शान्ति भंग गर्ने गतिविधि भएकोप्रति आपत्ति व्यक्त गरेका छन ।
कार्यक्रमस्थलमा ढुङ्गामुडा गर्ने, कार्यक्रम भाँड्ने कोशिस भएको बताउँदै त्यसमा सत्तापक्षकै कार्यकर्ता रहेको उनले बताएका छन । उनले भने, ‘अवान्छित गतिविधिहरु गर्ने, शान्ति भंग गर्ने खालका गतिविधि त्यहाँ भएका छन् ।
हामी नेकपा एमाले शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छौँ । हामी यो मुलुकमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहन्छौँ । सुशासन र विकासको बाटोमा देश अघि बढोस् भन्ने हामी चाहन्छौँ र आम जनतालाई यो व्यवस्थाप्रति विश्वास जगाउन चाहन्छौँ ।
हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमालेको नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुङ्गामुढा गर्ने कोसिस गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति पैदा गर्न खोजिन्छ, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ ।’