
काठमाण्डु,९ वैशाख– विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको छ ।
पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै ५ चैत देखी विराटनगरमा सुरु भएको बृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।
सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो । टाउकोमा चोट लागेका उनलाई ८ चैतमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएपनि १० गते उनको मृत्यु भएको थियो ।
त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका थिए ।
लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
यद्यपि संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै बताएको थियो । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका थिए ।
लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो । लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम रहेको थियो । सोही क्रममा झडप भएको हो ।