
कास्की, ९ वैशाख– कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका– ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर रहेका छन ।
आज (शनिबार) बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिएका छन ।
घाइते थापालाई उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना यरीएको उनले बताएका छन । वडाध्यक्ष क्षेत्रीले भने ‘उहाँको अनुहार, गुप्तांगतिर आक्रमण गरेको चोट देखिएको छ’ ।
योसँगै क्रन्डू जंगलमा भालुको आक्रमणबाट घाइते हुनेको संख्या पछिल्लो ३ वर्षमा ३ पुगेको छ । वडाध्यक्ष क्षेत्रीका अनुसार क्रन्डू जंगलमा परम्परागत रुपमा भेडा, बाख्रा गोठालाका गोठ हुने भएकाले भालुले बढी आक्रमण गर्ने गरेको छ ।