शान्ति प्रक्रियाको बाँकी काम कुनै हालतमा पूरा गर्छौं: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन ।

उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम यो सरकारले कुनै पनि हालतमा पूरा गर्ने बताएका छन । आज शनिबार प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहेको तर पूरा गर्ने बताएका छन । उनले भने, ‘डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं ।

संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौं’ उनले भने, ‘र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भइराखेका छन ।

त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।’ उनले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने बताएका छन ।

उनले मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको भन्दै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us