
काठमाण्डु, ८ वैशाख– नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गर्न रुस सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका छन ।
रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएका छन ।
त्यसका लागि नेपालले मन्त्री परिषदबाट निर्णय गरेर प्रकृया अगाडि बढाउन उनले आग्रह गरेका छन । अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबिच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको उपप्रधानमन्त्रीको कार्यालयलाई उद्दृत गर्दै रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ ।
उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रिने विश्वास व्यक्त गरेका थिए ।