डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ८ गते ११:१३ मा प्रकाशित

गुल्मी, ८ वैशाख– गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मूत्यु हुनेमा धुर्कोट गाउँपालिका–३ का १३ वर्षका दीपक मुखिया रहेका छन ।

पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन ।

आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।

घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

धुर्कोट गाउँपालिका –३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले बताएको छ ।

जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन । बिहीबार दिउँसो जिल्लाको इस्मा गाउँपालिका– ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।

आगलागीबाट इस्मा गाउँपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पूर्णरुपमा नस्ट भएको छ ।

गोठमा रहेका बाख्राहरु पनि मरेका छन् । त्यस्तै शिवलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर र ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ पनि जलेर नष्ट भएको प्र्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us