उपनिर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

काठमाण्डु टुडे २०८० वैशाख ८ गते ७:३५ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– आगामी १० वैशाखमा हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ ।

गएराति १२ बजेबाट निर्वाचन प्रचार–प्रसारमा निषेध गरिएको हो । सो दिन बिहान ७ बजेदेखि सुरु भएर साँझ पाँच बजे मतदान सकिएपछि सम्मका लागि निर्वाचन प्रचार रोकिएको निर्वाचन आयोगले जनाएको छ । बारा निर्वाचन क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान नसकिँदासम्मको समयलाई मौन अवधि मानिन्छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको जनाएको छ ।

मौन अवधिमा उम्मेदवारका पक्ष वा विपक्षमा कुनै पनि माध्यमद्वारा प्रचार–प्रसार गर्न पाइँदैन । निर्वाचन केन्द्रित सभा, सम्मेलन, भेला, गोष्ठी गर्न तथा मतदाताकोमा गएर मदतान माग्न रोक लगाइएको छ । यस्तै सामाजिक सञ्जालबाट समेत मतदातालाई भोट माग्द नमिल्ने आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सामाजिक सञ्जालको पनि अनुगमन गरिने बताए । यस्तै आयोगले सञ्चार माध्यमबाट उम्मेदवारको पक्ष वा विपक्षमा प्रेस विज्ञप्ति जारी गर्न वा सञ्चार माध्यमबाट जित वा हारबारे पूर्वानुमान गर्न पनि रोक लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us