घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १४:५० मा प्रकाशित

काठमाण्डु,७ वैशाख– म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ राज नाग भेटिएको छ ।

बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखा परेको थियो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर जानकारी दिएका छन ।

विगत नौ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उत्र्तीण केशव चोखालले खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किङ कोब्रा’ भएको बताएका छन ।

उनका अनुसार ०७६ जेठमा पनि घतानकै कोशीपानीको जङ्गलमा उनले सोही प्रकारको कोब्रा फेला पारेका थिए । नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले जानकारी दिएका छन ।

यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक रहेको उनले बताएका छन । नेपालीमा राजनाग, कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपिओपगुस हन्नह’ हो ।

यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने अध्येता चोखालले बताएका छन ।

यो अत्यन्त विषालु प्रजातिको कोब्रा भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नभएको उनले बताएका छन । यो कोब्रालाई नचलाउने ,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने उनले बताएका छन ।

म्याग्दीमा ०७६ मा भेटिएको सो नाग ‘किङ कोब्रा’ अर्थात् नै भएको किङ कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए ।

अहिले पनि सोही कोब्रा पुनः खड्काको घरमा भेटिएको प्राणी शास्त्रका जानकार चोखालले बताएका छन । उनका अनुसार नेपालमा पाइने ८२ प्रजातीका सर्पमध्ये किङ कोब्राको स्ङ्ख्या अत्यन्त न्यून रहेको छ ।

यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ । थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातीमा रहेको उनले बताएका छन । यसले आहाराको रुपमा अन्य सर्पलाई नै खाने उनले बताएका छन ।

कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनले बताएका छन । यसलाई विश्व संरक्षण सङ्घको रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us