
काठमाण्डु ,७ वैशाख- यहि वैशाख १० गते हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अविध सुरु हुने भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि बारा- २, तनहुँ -१ र चितवन -२ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।
आयोगले मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरेर मत माग्ने काम हुन सक्ने भन्दै यस्ता गतिविधिको पनि निगरानी गरिने बताएको छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले सम्बन्धित सबैमा स्मरण गराएको छ ।
साथै निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन आयोगले आग्रह गरेको छ ।