प्रधानमन्त्री प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै

काठमाण्डु टुडे २०८० वैशाख ७ गते ११:३५ मा प्रकाशित

काठमाण्डु,७ वैशाख– प्रधानमन्त्री प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै भएका छन । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु चितवन आउन लागेका हुन् ।

आगमी १० वैशाखमा हुने चितवन– २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन आउन लागेका हुन् ।

आज दिउँसो ३ बजे कालिका नगरपालिका–४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु आउन लागेको कांग्रेस चितवनका सचिव सूर्य अर्यालले जानकारी दिएका छन ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनीहरु बाराको चुनावीसभालाई सम्बोधन गरेर चितवन आउने यारीमा आउन लागेका हुन । त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको सबै तयारी पूरा भएको सचिव अर्यालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us