
काठमाण्डु, ६ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जिन्दगीभर लाभको पदमा नबसेकालाई मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने व्यवस्था गर्नुपर्ने बताएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट पारित भएर आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘कुनै पनि पटक अख्तियार प्रयोग गरेको वा लाभको पदमा बसेका मानिसहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बस्न हुँदैन । त्यस्ता मानिस जानु भनेको कुनै न कुनै रुपमा उसले प्रभावित तुल्याउँछ तुल्याउँछ’ ।
समाधानका लागि जिन्दगीभर लाभको पदमा नबसेकालाई मात्रै अख्तियारमा लैजाने व्यवस्था गर्नुपर्ने उनले बताएका छन । उनले संवैधानिक परिषद र निकायहरु रिटायर्ड क्लबहरु जस्ता भएको पनि टिप्पणी गरेका छन् ।