प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन

काठमाण्डु टुडे २०८० वैशाख ६ गते ११:०२ मा प्रकाशित

काठमाण्डु,६ वैशाख– प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज बुधबार बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन । कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि बैठकमा कुनै निर्णय नभएको जानकारी दिएका छन । उनले भने, ‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो र बैठक स्थगित भयो । ’

बैठको अर्को मिति पनि नतोकिएको उनले जानकारी दिएका छन । चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त रहेको छ ।

हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी रहेका थिए ।

यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us