
काठमाण्डु, ६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिने भएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत बिहान साढे ९ बजे भारत लैजान लागिएको जानकारी दिए । पोखरेलका अनुसार राष्ट्रपतिको नयाँदिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेसमा उपचार गराइने छ ।
पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । यसअघि पनि गत १८ चैतमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका पौडेल पाँच दिन अस्पताल बसेका थिए । राष्ट्रपतिको तल्लो पेटमा जम्मा भएको पानी निकालिए पनि स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकले भारत लान सुझाएको पोखरेलले बताए ।