ज्ञानेन्द्र शाहीको घोषणा–मेरो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १७:२९ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो धोषणा गरेका हुन । उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन पनि आग्रह गरेका छन ।

उनले भने,‘आज म यसै संसदबाट घोषण गर्न चाहन्छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडिको नाममा जम्मा गरिदिने छु ।

सबै प्रदेश संघिय सांसदहरुलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौ यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र उनीहरुले देशको नाम संसार भर चिनाउन सहयोग पुग्छ ।’

उनले महालेखा परीक्षकले गरेको लेखापरिक्षणमा अघिल्लो वर्षभन्दा यो वर्ष २१ प्रतिशत बेरुजु बढेको र यो भ्रष्टाचार भएको बतानएका छन ।

२० खर्ब ८० अर्ब वैदेशिक ऋण रहेको बताउँदै वैदेशिक रोजगारीमा जान यो वर्ष ६ लाख ३० हजार जनाले आवेदन दिएको बताएका छन ।

यस ८ महिनामा मात्रै ९ खर्ब ९३ अर्बको व्यापार घाटा भएको बताउँदै नेपालको इतिहासमा सबैभन्दा ठूलो व्यापार घाटा भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us