काठमाण्डु,५ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको बताएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मेयर बालेनले बागमती नदी किनारको बस्ती हटाउन खोज्नु संविधान विपरीत र सिंहदरबारको फोहोर नउठाउनु कर्तव्य र जिम्मेवारी विपरीत भएको बताएका छन ।
उनले भने, ‘ काठमाण्डु महानगरपलिका मेयर साहेब अलि धेरै नै चर्चामा आउने गर्नुभएको छ । चर्चा यस कारणले कि उहाँले पटक पटक हरेक सवालमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने तरिकाले यो अवस्था सिर्जना भइरहेको छ’ ।
उनले ११ चैतमा काठमाण्डु महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न भनी जारी गरेको सूचना संविधान विपरीत भएको पनि बताएका छन । उनले भने, ‘२१ चैतमा काठमाण्डु महानगरपालिकाले एउटा सूचना जारी गरेको थियो ।
काठमाण्डु उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बसोबासलाई ७ दिनभित्र हटाउन अनुरोध गरिएको थियो, निर्देशन दिइएको थियो, यदि नहटाएमा त्यसलाई क्षतिपूर्ति सम्बन्धित व्यक्तिले तिर्ने गरी महानगरपालिकाले हटाउँछ ।
यो संविधान विपरीत कुरा हो’ । उनले नेपालको संविधानको अनुसूची ९ मा सुकुम्बासीसँग सम्बन्धित समस्या संघ प्रदेश र स्थानीय तहले समन्वयात्मक ढंगले समाधान गर्ने गरी साझा सूचीमा राखेको पनि बताएका छन ।
उनले सिंहदरबारभित्रको फोहोर नउठाउने र उठाउने कम्पनीको इजाजत खारेज गर्ने धम्की दिनु मेयर बालेनको कर्तव्य र जिम्मेवारी विपरीत भएको पनि बताएका छन ।
काठमाण्डु महानगरपालिकाले नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडामा फोहोर फालेर त्यस क्षेत्रको जनताको स्वच्छ वातावरणमा बस्न पाउने हक हनन गरेको पनि उनले बताएका छन ।
उनले संसदले सर्वदलीय समिति बनाएर ओखरपौवा र बञ्चरेडाँडाको यथार्थ स्थितिको अध्ययन गरेर सरकारलाई सुझावसहितको प्रतिवेदन दिनुपर्ने माग गरेका छन् ।