ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीको निर्णयमाथि संसद् सचिवालयले अध्ययन गर्दै

काठमाण्डु टुडे २०८० वैशाख २ गते १६:२६ मा प्रकाशित

काठमाण्डु,२ वैशाख– संसद् सचिवालयले ढाकाकुमार श्रेष्ठमाथि गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरीसकेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार संघीय सचिवालयले पार्टीले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गरीने भएको छ ।

सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन ।

उनले भने,‘ढाकाकुमार श्रेष्ठलाई संसद् पद रिक्तताको लागि रास्वपाले निष्कासन गरिएको भनिएको पत्रमाथि संसद् सचिवालयले छानबिन गरेर सभामुखलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

राजनीतिक दलसम्बन्धी ऐनले जे–जे व्यवस्था गरेको छ, साधारण सदस्यबाट निष्कासन गर्नका लागि जुन विधि प्रक्रिया अपनाउनु पर्छ भनिएको छ, सो सम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गर्दैछौँ ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्‍मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

संसद् नचलेको बेला छ सभामुखले सूचना पाटीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्नेछ । गत चैत ३० गते ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको सम्बन्धी पत्र रास्वपाले आयोगमा पठाएको थियो ।

आगामी वैशाख १४ गतेभित्र उनीमाथि गरिएको कारबाही प्रक्रियागत रूपमा ठिक भए सभामुखले स्थान रिक्तताको जानकारी गराउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us