काँग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने करिब निश्चित

काठमाण्डु टुडे २०७९ चैत १२ गते ७:५३ मा प्रकाशित

काठमाण्डु, १२ चैत– काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व खड्काले गर्ने करिब निश्चित रहेको काँग्रेसका एक पदाधिकारीले बताए । ती नेताका अनुसार खड्काले उपप्रधानसहित अर्थ वा रक्षामन्त्री पाउने सम्भावना छ । काँग्रेसले अर्थसहित ८ मन्त्रालय आफूले पाउनुपर्ने दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्रस्तुत गरेको छ ।

खड्का उपप्रधानसहित गृह मन्त्रालय नपाएसरकारमै नजाने अडानमा थिए । तर, गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले राख्न चाहेपछि पछिल्लो समय उनी लचिलो भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले खड्काकै नेतृत्तवमा सरकारमा मन्त्रीहरु पठाउन चाहेको काँग्रेस श्रोतको भनाइ छ ।

खड्काले सार्वजनिक रुपमै आफू सरकारमा सहभागी नहुने बताउँदै आएका छन् । यदि खड्का मन्त्रीका लागि इच्छुक नदेखिए पूर्वउपसभापति प्रकाशमानसिंह श्रेष्ठको नेतृत्वमा काँग्रेस सरकारमा सहभागी हुने सम्भावना छ ।

शनिबारको पदाधिकारी बैठकमा खड्काले शक्ति बाँडफाँटबारे प्रधानमन्त्रीसहित अरु दलसँग भइरहेका छलफलबारे ब्रिफिङ गरेका थिए । उनले अर्थसहित ८ मन्त्रालय पाउनुपर्ने अडानमा आफूहरु रहेको बताए । ६ चैतमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले एक÷दुई दिनमै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

प्रधानमन्त्रीले आज शक्ति बाँडफाँटबारे छलफल गर्न सत्तारुढ १० दलका नेताहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले नागरिक उन्मुक्तिबाहेक सबै दलका नेतासँग मन्त्रालय बाँडफाँटबारे कुराकानी गरिसकेको र छिट्टै मन्त्रिपरिषद विस्तार हुने दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ ।

प्रधानमन्त्रीले शनिबार माओवादी केन्द्रको पदाधिकारी बैठकमा मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद विस्तारमा भइरहेको तयारीबारे जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us