
काठमााण्डु,३० फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिको एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरिरहेको बताएका छन ।
आज (मंगलबार) काठमाण्डुमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘नेपालको राजनीतिको एउटा पक्ष आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले उल्लङ्घन गरेको मानवअधिकारको पनि कुरा गर्ने ? वाह १ तिनीहरू नै मानवअधिकारका कुरा गरेर थाक्दैनन्’ ।
उनले नेपालमा मानवअधिकारको इतिहास लामो भएको भन्दै नेपालमा धेरै मान्छे राष्ट्र वा जनताको हक अधिकारका लागि लड्दा मरेको पनि बताएका छन ।
ओलीले मानवअधिकार रक्षाका निम्ति नेपालमा सबभन्दा पहिला १९९५ मा मानवअधिकारकै संस्था खोलेर त्रिचन्द कलेजका तत्कालीन विद्यार्थी गंगालाल श्रेष्ठले पहिलो प्रवचन गरेको बताएका छन ।
त्यसपछि क्रमशः मानवअधिकारका क्षेत्रमा अन्य व्यक्ति र संस्थाहरू खुल्दै गएको र भूमिका खेल्दै आएको भन्दै उनले राणा शासन, पञ्चायती शासनविरुद्ध पनि मानवअधिकारका आवाजहरू उठेको बताएका छन ।