मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको पहिचान

काठमाण्डु टुडे २०८२ जेठ १ गते १३:३० मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– काठमाण्डू महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि दुई घरमा भएको आगलागीमा मृत्यु भएकी वृद्धाको पहिचान भएको छ ।

आगलागीमा काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन ।

आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिकैको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा फैलिएको थियो ।

बिहान १० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो। करिब तीन घण्टा लागेको आगो नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।

जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औद्योगिक क्षेत्रको एक गरी छ दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us