एमालेले एनआरएनएलाई दलीय हितमा प्रयोग गर्दैनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ जेठ १ गते १४:४८ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन ।

आज (बुधबार) काठमाण्डूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ ।

नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ, ‘नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ ।’ अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर प्रधानमन्त्री ओलीले गरे ।

उनले भने, ‘विधिसम्मत ढंगले तपाईंहरू चल्नुस् । यो विधिको दुनियाँ हो । विधिको जमाना हो । विधि तोडेर यस जमानामा अगाडि जान्छु भन्ने कुरा त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन, ‘यस संस्थाको अस्तित्व रक्षाका लागि यस कन्क्लेभले निष्कर्ष निकालोस् ।

यस संस्थालाई पोल्टिकल पार्टीका जनवर्गीय संगठन बन्नबाट बचाउनका लागि, यस संस्थालाई अरु कसैको बेनिफिटका लागि प्रयोग हुनेकुराबाट जोगाएर समग्र नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाको रुपमा अघि बढाउन तपाईंहरु सफल हुनुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us