
काठमााण्डु,३० फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन ।
मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्युदण्डको पक्षमा नरहेको बताएका छन । आज मंगलबारबाट काठमाण्डुमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले बुद्ध जन्मेका देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने समेत बताएका छन । उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन ।
त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो ।
कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन । तर कतिवटा देशहरूले त मृत्युदण्ड दिएको दिएकै छ । संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्वीकार गर्दैन ।’