विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्दैछौँः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १२:३४ मा प्रकाशित

काठमााण्डु,३० फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्ने बताएका छन ।

आज (मङ्गलवार) नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले विदेशी लगानीकर्ताहरूको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा शुरु गर्ने विषयमा कानुन बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका छन ।

प्रचण्डले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने पनि बताएका छन । उनले पूर्वाधार विकासका लागि नेपाललाई ठुलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता भएको पनि बताएका छन ।

उनले चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अप्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।

उनले भने, ‘हामीलाई पूर्वाधार विकास गर्न ठुलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता रहेको छ, चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ, सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुने गरी वातावरण बनाउन प्रतिबद्ध रहेको छ’, उनले भने, ‘पछिल्लो समयमा चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी आउन सकेको छैन, त्यो अरूलाई दोष दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो । ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ ।

दुई देशबीचको व्यावसायिक सम्भावना खोज्न र उजागर गर्नको लागि निजी क्षेत्रको भूमिका प्रशंसनीय रहँदै आएको छ, अबका दिनमा पनि निजी क्षेत्रहरूले दुई देशबीचको व्यवसायलाई प्रवर्द्धन गर्न त्यत्तिकै भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us