
काठमाण्डु, ७ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाहले अब आफू चुप लागेर नबस्न बताएका छन् ।
७३औं प्रजातन्त्र दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै ज्ञानेन्द्रले ‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामील् संयमता र देशभक्ति गुमाएनौं र देश छाडेर पनि गएनौं’, उनले लेखेका छन्, ‘तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’
देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको उनको भनाइ छ । पूर्वराजाले देश जोगाउन राजनीतिक दलहरू र राजसंस्थाबीच आपसी विश्वासका साथ सहकार्य गर्न विलम्ब गर्न नहुने उल्लेख गरे । ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न हुँदैन,’ पूर्वराजाको सन्देशमा भनिएको छ ।