
काठमाण्डु,५ फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले विरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताएका छन ।
उनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई तोडेर अघि जानुपर्ने बताएका छन ।
‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल रुपमा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन । ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।
उनले भने, ‘निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौं, आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न ’ उनीहरुको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न ।
यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ ।’ अस्वस्थ प्रतिस्पर्धाहरुलाई पराजित गर्न सक्ने गरी तयार हुनुपर्ने उनले बताएका छन । उनले पार्टी हितको पक्षमा नउभिने नेता कार्यकर्तालाई पार्टीले पनि हित नगर्ने बताएका छन ।
ओलीले अघि भने, ‘हामीले पार्टीको अहित ग¥र्यौं भने उसको पनि हित हुँदैन । एमालेको रक्षा जसले गछौैं, एमालेले तिनको रक्षा गर्छ ।’
अब हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको उनले बताएका छन ।
दुई महिने अभियानबारे प्रष्ट पार्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो दुई महिने अभियान नै आगामी ४ वर्षको अभियान हो । त्यसको जग बनाउने छ यसले ।’