
काठमाण्डु,२४ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् ।
आज (मंगलबार) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यस्तो बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताएका छन ।
उनले भने, ‘यसमा पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौं, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ’प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक रहेको बताएका छन ।
उनले भने, ‘हामीले गणतन्त्र दिवस मनाउँछौं, प्रजातन्त्र दिवस मनाउँछौं, लोकतन्त्र दिवस मनाउँछौं । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ ।
त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।’ बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।