राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं: शेखर कोइराला

काठमाण्डु टुडे २०७९ माघ २४ गते १४:२५ मा प्रकाशित

काठमाण्डु,२४ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन ।

अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने उनले बताएका छन । नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

कोइरालाले भने, ‘२५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला। राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। कांग्रेसकै उम्मेदवारले जित्छ।’

कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने उनले बताएका छन । उनले भने , ‘अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।

कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन ।’ उनले कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us