
काठमाण्डु,२४ माघ– जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया बालिका बन्दना भण्डारी रहेकी छन ।
चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिएका छन ।
आइतबार राति करिव साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ । प्रहरीका अनुसार तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए ।
आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् । घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी बताएको छ ।
ढुंगा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ । घटनामा लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन् । उनको खुट्टाको केही भागमा जलेको छ ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि कणरली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्याइएको छ ।