मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी

काठमाण्डु टुडे २०७९ माघ २४ गते १०:३० मा प्रकाशित

 काठमाण्डु,२४ माघ– मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई सरकारमा ल्याएर तेस्रो पटक मन्त्री मण्डल विस्तार गरेका छन् ।

उनले सोमबार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन ।

नियुक्तिको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको जानकारी सरकारले दिएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताएका छन ।

आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको बताइएको छ ।

योसँगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र ४ राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us