
काठमाण्डु,२३ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
आज बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरुसँग संसद्का गतिविधिहरुलाई चलयामान बनाउने कुरामा छलफल गरेका छन ।
उनले छलफलका क्रममा संसद्मा कस्तो बिजनेश लैजाने र यो अधिवेशनमा कतिवटा विधेयकहरु संसद्बाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरुबाट सुझाव लिएका छन्।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसद्को बिजनेश कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरु लैजाने भन्नेबारेमा छलफल भएको जानकारी दिएका छन ।
उनले संसद् अहिले प्रभावकारी नबनेको भन्दै संसद् भाषणको रमिता देखाउने कुरामै सिमित रहेको बताएका छन । आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेश बनाइनुपर्ने कुरा अघि सारेको यादवले बताएका छन ।
हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिब २० वटा विधेयक संसद्बाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले गरेको उनले बताएका छन ।
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले आजको प्रमुख सचेतकहरुसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने,
यसका साथै विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउनेरु लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको जानकारी दिएका छन ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद् सुरु भए पनि संसद्ले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाएको बताएका छन ।